सभामुख अर्यालले भेटे भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई


सर्लाही । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेहरूसँग भेटघाट गरेका छन् ।

सोमबार सर्लाही पुगेर दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन् ।

भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।