काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विद्यमान समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले दुई देशबीचको मित्रता प्रगाढ बनाउने र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेजस्ता औपचारिक तथा अमूर्त विषयमा मात्र सीमित नभई लामो समयदेखि थाँती रहेका राष्ट्रिय हितका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
नेपाल र भारतबीच विभिन्न महत्वपूर्ण विषय लामो समयदेखि समाधान हुन नसकेको उल्लेख गर्दै उनले ती समस्याको निराकरणबाटै द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने धारणा राखेका छन्।
वार्ताका क्रममा नेपालले आफ्ना राष्ट्रिय हित र सरोकारका विषय उठाउन छाड्नु भनेको ती मुद्दा नै छाड्नुजस्तै अर्थ लाग्न सक्ने रिजालको भनाइ छ। त्यसैले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनले बताएका छन्।
त्यस्तै, प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि राष्ट्रिय सहमति र साझा दृष्टिकोण निर्माणका लागि सबै राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सुझाव लिनुपर्नेमा पनि रिजालले जोड दिएका छन्।




प्रतिक्रिया