१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने खेलबाट फाइनल पुग्ने पहिलो टोलीको टुंगो लाग्नेछ। लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोली पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनी यसपटक पनि आफ्नो दबदबा कायम राख्ने दाउमा छ। यस संस्करणको लिग चरणमा भएको पहिलो भेटमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो।
लुम्बिनीका लागि आजको खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसरसमेत हुनेछ। यसअघि गत संस्करणको फाइनल र जारी संस्करणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनभित्रै समेटेको थियो। त्यसैले आज पनि सुदूरपश्चिममाथि जित निकाल्दै आफ्नो वर्चस्व कायम राख्ने चुनौती लुम्बिनीसामु छ।
यता सुदूरपश्चिम भने अघिल्ला दुई हारको बदला लिँदै फाइनलमा सीधा प्रवेश गर्ने योजनामा हुनेछ। लुम्बिनीविरुद्धको पछिल्लो नतिजा बिर्सेर उत्कृष्ट प्रदर्शन गर्ने दबाब सुदूरपश्चिममाथि रहनेछ।
लिग चरणको प्रदर्शन हेर्दा दुवै टोलीले पाँच–पाँच खेल जितेका छन्। सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको थियो भने लुम्बिनीले एक खेल मात्रै गुमाएको थियो। एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले थप एक अंक प्राप्त गरेको थियो।
पहिलो क्वालिफायरको विजेता टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल उपाधि यात्रामा महत्वपूर्ण हुनेछ।




प्रतिक्रिया