किन रिसाइन् सुजाता कोइराला गगन थापासँग ? नक्कली पत्र भन्दै मागिन् छानबिन


काठमाडौं । नेपाली कांग्रेसकी वरिष्ठ नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र पार्टी सभापति गगनकुमार थापाबीच एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) मा प्रतिनिधित्वको विषयलाई लिएर विवाद चर्किएको छ । पार्टीको तर्फबाट ICAPP को स्थायी समितिमा प्रतिनिधित्व गर्दै आएकी कोइरालालाई हटाएर उपसभापति डा. विनोदकुमार चौधरीलाई जिम्मेवारी दिइएको विषयमा असन्तुष्ट बनेकी कोइरालाले अहिले उक्त निर्णय प्रक्रियामाथि नै प्रश्न उठाएकी छन् ।

यसअघि नोभेम्बर ५, २०२६ को मिति राखेर नेपाली कांग्रेसको आधिकारिक लेटरहेडमा ICAPP स्थायी समिति अध्यक्षलाई पत्र पठाइएको थियो । उक्त पत्रमा कोइरालालाई स्थायी समितिबाट हटाएर उनको स्थानमा चौधरीलाई तत्काल प्रभावबाट मनोनीत गर्न अनुरोध गरिएको उल्लेख थियो । पत्रमा सभापति गगनकुमार थापाको तर्फबाट चौधरीलाई पार्टीको प्रतिनिधिका रूपमा जिम्मेवारी दिइएको व्यहोरा उल्लेख गरिएको थियो ।

तर, कोइरालाले उक्त पत्र नै नक्कली भएको दाबी गरेकी छन् । उनले नोभेम्बर १२ मा सभापति थापालाई पत्र लेख्दै पार्टीको नाम र आधिकारिक लेटरहेड दुरुपयोग गरेर ICAPP मा नक्कली पत्र पठाइएको भन्दै तत्काल छानबिन गर्न माग गरेकी हुन् ।

कोइरालाका अनुसार विवादित पत्रबारे उनले पार्टीका मुख्यसचिवसँग व्यक्तिगत रूपमा जानकारी लिएकी थिइन् । त्यसक्रममा मुख्यसचिवले आफूलाई उक्त पत्रबारे कुनै जानकारी नभएको, पत्र नलेखेको र हस्ताक्षरसमेत नगरेको बताएका थिए ।

आफूलाई ICAPP को स्थायी समितिबाट हटाउने उद्देश्यले पार्टीको आधिकारिक प्रक्रिया र सहमतिबिना पत्राचार गरिएको भन्दै कोइरालाले आपत्ति जनाएकी छन् । उनले यस्तो कार्यले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कांग्रेसको संस्थागत विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने बताएकी छन् ।

कोइरालाले सभापति थापासँग विवादित पत्र तयार गर्ने र पठाउने व्यक्तिको पहिचान गर्न तत्काल र विस्तृत छानबिन गर्न माग गरेकी छन् । साथै दोषीमाथि कडा अनुशासनात्मक तथा कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । उनले नेपाली कांग्रेसका तर्फबाट ICAPP सचिवालयलाई आधिकारिक पत्र पठाएर विवादित पत्र अमान्य रहेको जानकारी गराउन र त्यसका आधारमा भएका निर्णय सच्याउनसमेत आग्रह गरेकी छन् ।