आत्मसमीक्षाको कसीमा कांग्रेस : ‘हामी तयार छौँ’ अभियान सुरु


काठमाडौँ । आन्तरिक किचलो, वैचारिक अस्पष्टता र कमजोर प्रतिपक्षी भूमिकाको आलोचना खेपिरहेको नेपाली कांग्रेसले अन्ततः आफैँलाई नियाल्ने र सच्याउने बाटो रोजेको छ।

संगठनको आन्तरिक सुदृढीकरण र संसद् तथा सडकमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने मूल ध्येयका साथ कांग्रेसले आजबाट ‘हामी तयार छौँ’ अभियानको थालनी गर्दैछ। विगतका कमी-कमजोरीलाई ढाकछोप गर्नुको सट्टा खुला रूपमा स्वीकार गर्ने, निर्मम आत्मसमीक्षा गर्ने र वैचारिक तथा सांगठनिक रूपमा पार्टीलाई नयाँ ऊर्जा दिने स्पष्ट खाकासहित यो अभियान अघि सारिएको हो।

सत्ताको खेलभन्दा बाहिर रहेर रचनात्मक प्रतिपक्षको भूमिका खोजिरहेको कांग्रेसका लागि यो अभियान एक महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।

अभियानको औचित्य प्रस्ट्याउँदै महामन्त्री प्रदीप पौडेल भन्छन्, “वर्तमान तरल राजनीतिक परिस्थितिमा पार्टीलाई अझ सशक्त रूपमा उभ्याउन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न अब ठोस योजनाबिना सम्भव छैन।”

पार्टीभित्र मौलाउँदो गुटगत हल्ला र कानेखुसीले संगठनको जरा कमजोर बनाइरहेको यथार्थतर्फ संकेत गर्दै पौडेलले यस्ता प्रवृत्तिबाट टाढा रहन नेता–कार्यकर्तालाई सचेत गराएका छन्। उनका अनुसार, अबको निकास आपसी अविश्वास होइन, बरु सहकार्य र समन्वय नै हो।

यो अभियान औपचारिकतामा मात्र सीमित नराखी पार्टीको विचार, दस्तावेज र प्रतिपक्षी रणनीतिलाई समेत समयानुकूल परिष्कृत गर्ने कांग्रेसको तयारी छ।