‘जुनसुकै बेला आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू’: ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने बताएका हुन् ।

उनले आन्दोलनका लागि सधैँ लामो समय तयारी गर्न सम्भव नहुने उल्लेख गर्दै नेता–कार्यकर्तालाई मानसिक रूपमा तयार रहन आग्रह गरे ।

“आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू । आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,” ओलीले भने ।

उनले विभिन्न ठाउँमा विद्रोह, निर्वाचन र उपद्रवका माध्यमबाट राजनीतिक परिवर्तन हुने गरेको उल्लेख गरे । त्यसैले पार्टीका नेता–कार्यकर्ता जुनसुकै समयमा पनि आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

“कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ । त्यसकारण साथीहरू तयार रहनुहोला,” ओलीले भने ।