काठमाडौं । हुम्ला जिल्ला हुलाक कार्यालयबाट बिनाकारण हटाइएका हुलाकी हलकाराहरू न्यायको खोजीमा दुई वर्षदेखि भौतारिरहेका छन्। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्थानीय टीकाबहादुर शाहीले १५–१६ वर्षदेखि सेवारत कर्मचारीहरूको जागिर खोसिएको र विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको बताएका छन्।
हुम्ला हुलाकी कार्यालयअन्तर्गत विभिन्न हुलाक कार्यालयमा कार्यरत नेप्टी शाहीसहित १३ जना हलकारालाई दुई वर्षअघि कुनै कारणबिना सेवाबाट हटाइएको शाहीले जानकारी दिए। उनीहरूको स्थानमा अन्य १६ जना नयाँ व्यक्तिलाई नियुक्ति दिएर पुराना कर्मचारीलाई अन्यायपूर्वक विस्थापित गरिएको उनको आरोप छ।
‘पीडितहरूले विगत १५, १६ वर्षदेखि इमानदारीपूर्वक काम गर्दै आएका थिए, तर बिनाकारण उनीहरूको रोजीरोटी खोसियो,’ शाहीले भने, ‘न्यायको खोजीमा उनीहरू दुई वर्षदेखि भौतारिन बाध्य छन्।’
पीडितहरूले न्याय पाउनुपर्ने माग गर्दै जिल्लास्थित हुलाक कार्यालय, केन्द्रीय हुलाक सेवा विभाग तथा सरकारका विभिन्न जिम्मेवार निकायहरूमा पटक–पटक गुहार माग्दासमेत कुनै सुनुवाइ नभएको र अदालतको स्टे अर्डर पनि लत्याइएको उनको गुनासो छ। राज्यका निकायबाटै उपेक्षामा परेको भन्दै शाहीले तत्काल छानबिन गरी पीडित हलकाराहरूलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।




प्रतिक्रिया