दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं । नेपाल प्रहरीको प्रमुख (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सरकारको निर्णयबाट जिम्मेवारीमुक्त भएपछि कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

तिहार बिदाका कारण सुरुमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको थियो । तर, उक्त दिन छठ पर्वको बिदा थपिएपछि सुनुवाइ हुन सकेन । त्यसपछि बुधबारका लागि नयाँ पेसी निर्धारण गरिएको कार्कीका कानुन व्यवसायीले बताएका छन् ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च पुगेका कार्कीले आफूलाई कुनै पूर्वसूचना नदिई तथा आफ्नो भनाइ राख्ने अवसरसमेत नदिई पदबाट हटाइएको जिकिर गरेका छन् ।

उनले एआईजी केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान गर्नेलगायत सरकारका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।

आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै आरोप र कारणसमेत स्पष्ट रूपमा उल्लेख नगरिएको कार्कीको रिट निवेदनमा दाबी गरिएको छ ।