भारत भ्रमणमा प्रम बालेनको एजेन्डा फितलो हुनु हुँदैन, आर्थिक विषयलाई प्राथमिकता दिनुपर्छ : विश्लेषक सेढाईं


काठमाडौँ । राजनीतिक विश्लेषक हेमन्त सेढाईंले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्लेषक सेढाईंले ‘जेनजी विद्रोह’पछि देशले स्थायी सरकार र युवा प्रधानमन्त्री पाएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई अब नयाँ शिराबाट अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली बोल्नेभन्दा पनि व्यवहारमा प्रकट गर्ने खालको रहेको टिप्पणी गर्दै सेढाईंले प्रमको पहिलो औपचारिक विदेश भ्रमण छिमेकी मुलुक भारतबाट हुन लागेको बताए । विगतमा दलैपिच्छे फरक–फरक परराष्ट्र नीति देखिएको उल्लेख गर्दै उनले अब त्यसलाई सच्याएर देशको एउटै र साझा परराष्ट्र नीति बनाउनुपर्ने धारणा राखे । ‘हिजो पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओलीहरूले प्रधानमन्त्री भएर दिल्ली जाँदा जे–जे भारी बोके, त्यो उनीहरूले नै सल्टाउने हो,’ उनले भने, ‘अब प्रधानमन्त्री बालेनले परराष्ट्र नीतिलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ ।’

विश्लेषक सेढाईंले भारत नेपालको नयाँ प्रधानमन्त्री र स्थायी सरकारसँग काम गर्न उत्साहित देखिएको बताए । भ्रमणका क्रममा नेपालको एजेन्डा फितलो हुन नहुने भन्दै उनले जलस्रोत र पर्यटनको अधिकतम सदुपयोग गर्ने विषयमा ठोस पहल गर्न सुझाव दिए । विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लीबाट सीधा उडान (दिल्ली–पोखरा र दिल्ली–भैरहवा) सञ्चालन गर्न सके नेपालमा पर्यटकको बाक्लो चहलपहल हुने उनको विश्वास छ ।

भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले गृहकार्य बलियो बनाउनुपर्नेमा जोड दिँदै सेढाईंले पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्र मामिलाका जानकार, अर्थविद्, सुरक्षाविद् तथा जलस्रोत विज्ञहरूसँग व्यापक छलफल गरेर मात्र भारत जान सुझाव दिएका छन् ।