काठमाडौँ । नेपाल-भारत सम्बन्ध यतिबेला नयाँ कूटनीतिक नेतृत्वको काँधमा आइपुगेको छ । एकातिर भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे आफ्नो कार्यभार सम्हाल्न नयाँदिल्ली पुगेका छन् भने अर्कोतिर भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौँमा सक्रिय भइसकेका छन् । दुवै छिमेकीमा नयाँ दूतहरूको उपस्थितिले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा र चुनौती दुवै थपेको छ ।
नवीन श्रीवास्तवको कार्यकाल पूरा भएसँगै भारतले अनुभवी कूटनीतिज्ञ सुधाकर दलेलालाई काठमाडौँ पठाएको छ । दलेलाले दुई देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
कूटनीतिक वृत्तमा दलेलाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि स्थगित भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणलाई राजदूत दलेलाको पहलमा सफल बनाइएको विश्लेषण गरिएको छ । नेपालको बदलिँदो आन्तरिक राजनीति, विकास परियोजनाहरूको कार्यान्वयनमा देखिएको सुस्तता र सीमा तथा व्यापारसम्बन्धी थाती रहेका मुद्दाहरूमा विश्वासको वातावरण बनाउनु उनको मुख्य परीक्षा हुनेछ ।
उता, परराष्ट्र मामिलामा लामो अनुभव सँगालेका डा. निश्चलनाथ पाण्डे नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको आन्तरिक तयारी तीव्र भइरहेका बेला पाण्डेको दिल्ली यात्रा तय भएको हो । मङ्सिर ६ गतेका लागि प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको चर्चा चले पनि दुवै देशका सरकारले यसको औपचारिक पुष्टि भने गरिसकेका छैनन् ।
प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा दिल्ली पुगेका राजदूत पाण्डेमाथि दोहोरो जिम्मेवारी देखिएको छ । पहिलो, उच्चस्तरीय भ्रमणलाई औपचारिकतामा मात्र सीमित नराखी ठोस परिणाममुखी बनाउनु । दोस्रो, राजनीतिक र कूटनीतिक संवादसँगै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै नेपालमा भारतीय लगानी भित्र्याउने वातावरण तयार पार्नु । पाण्डेले नेपालको राष्ट्रिय स्वार्थ र चासोलाई कसरी प्रस्तुत गर्छन् भन्नेमा धेरैको चासो छ ।




प्रतिक्रिया