टोकियो, २ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ र रुसी राष्ट्रपतिसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने तयारी गरिरहेका बेला जापानी प्रधानमन्त्री साने ताकाइचीले उनीसँग भेटवार्ता गरेका छन् । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मङ्गलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गरेको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको जापानी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदै छन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।
ताइवानसम्बन्धी उनको अभिव्यक्तिपछि चीनसँगको पछिल्लो परिस्थितिका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता हुनेबारे भने अन्योल रहेको बताइएको छ । यद्यपि, सञ्चारमाध्यमका अनुसार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छोटो भेट गर्न सक्ने सम्भावना छ । रुसी विदेश मन्त्रालयका एक अधिकारीले भने त्यस्तो भेटबारे कुनै निर्णय नभएको बताएका छन् ।
जासुसीको आरोपमा रुसमा एक जापानी पत्रकार पक्राउ पर्नुका साथै जापान टोबाकोसँग सम्बन्धित सम्पत्ति जफत भएपछि पछिल्ला साताहरूमा जापान–रुस सम्बन्धमा तनाव बढेको छ ।
यसैबीच, सी, ट्रम्प र पुटिनबीच बिहीबार त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ । जापानी सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले अमेरिका–चीन, चीन–रुस तथा अमेरिका–चीन–रुस सम्बन्धलाई जापानले नजिकबाट नियालिरहेको बताएको छ ।
उनले जापानको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताका लागि अमेरिका–जापान गठबन्धन बलियो हुनु आवश्यक रहेको उल्लेख गरे ।
चीनले आफ्नो भूभाग मान्दै आएको ताइवानको अवस्थाबारे प्रधानमन्त्री ताकाइचीले गत वर्ष नोभेम्बरमा जापानको सम्भावित भूमिकाबारे धारणा व्यक्त गरेको थियो । उक्त अभिव्यक्तिपछि चीनले आफ्नो चासो व्यक्त गरेको थियो । रासस




प्रतिक्रिया