काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कैदमुक्त भएपछि पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
एमालेले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी भएका हुन् । उनी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले कैद सजायमा २५ प्रतिशत छुट पाएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।
एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुने पार्टीले जनाएको छ ।




प्रतिक्रिया