तीन हजार बढी अगुवा कार्यकर्ता उतारेर एमालेको स्थानीय तह चुनावी शङ्खघोष


काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनको सँघारमा सङ्गठनलाई तल्लो तहसम्मै पुनर्जागृत गर्ने र शक्ति सञ्चय गर्ने रणनीतिसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राजधानीमा बृहत् राष्ट्रिय भेला सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर उद्घाटन गरेको यो दुई दिने भेलालाई एमालेले नियमित राजनीतिक जमघटका रूपमा मात्र नभई चुनावी शक्ति प्रदर्शन र आन्तरिक एकताबद्धताको प्रस्थानविन्दु बनाउने कसरत गरेको छ।

पार्टी सङ्गठन विभागका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्ठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार ४१४ जनाको उपस्थिति रहेको छ। यति ठूलो सङ्ख्यामा देशभरका अगुवा कार्यकर्ता र जनप्रतिनिधिलाई एकै थलोमा उतारेर एमाले नेतृत्वले स्थानीय तहको निर्वाचनमा पार्टीको ‘ग्रासरुट’ पकड कति बलियो छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।

भेलाको मुख्य एजेन्डा सङ्गठन सुदृढीकरण र आगामी चुनावी रणनीति तय गर्नु हो। विशेषगरी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादनको समीक्षा गर्ने, जनतामाझ पार्टीका एजेन्डा कसरी प्रभावकारी रूपमा लैजाने र विपक्षी गठबन्धनको सामना कसरी गर्ने भन्ने विषयमा भेला केन्द्रित रहनेछ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति र सम्बोधन गर्ने कार्यक्रमले पार्टीभित्रको भावी शक्ति सन्तुलन र नेतृत्वको निरन्तरताबारे समेत राजनीतिक वृत्तमा चासो बढाएको छ। भण्डारीसँगै उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले भेलालाई सम्बोधन गर्दैछन्।

शीर्ष नेताहरूको सम्बोधनमार्फत भेलाले मूलतः तीनवटा सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ- पहिलो, तल्लो तहसम्म गुटबन्दी अन्त्य गरी एकढिक्का भएर निर्वाचनमा होमिने; दोस्रो, स्थानीय सरकारमार्फत भएका विकास निर्माणका कामलाई चुनावी पुँजीका रूपमा स्थापित गर्ने; र तेस्रो, सङ्गठन विस्तार अभियानलाई तीव्रता दिँदै विपक्षी दलका कार्यकर्तालाई आकर्षित गर्ने।

दुई दिनसम्म चल्ने एमाले भेलाले पारित गर्ने ठोस कार्ययोजना र नेतृत्वले दिने निर्देशनले नै आगामी स्थानीय तह निर्वाचनमा एमालेको राजनीतिक र साङ्गठनिक दिशा तय गर्नेछ।