काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलासुस्ती गर्ने र संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् । उनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा अब कुनै पनि प्रकारको सम्झौता र सहुलियतका नाममा ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
आज महादेवटार सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री लम्सालले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण फास्ट ट्र्याकजस्तो महत्त्वपूर्ण आयोजना आलोचनाको विषय बन्न पुगेको बताए । पटक–पटक ताकेता, चेतावनी, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण व्यवसायीले प्रतिबद्धताअनुसार काम गर्न नसकेको उनको भनाइ थियो ।
मन्त्री लम्सालका अनुसार प्याकेज नम्बर ९ ‘ए’, ९ ‘बी’ र ८ ‘बी’ लगायतका खण्डमा निर्माणको गति सन्तोषजनक छैन । निर्माण कम्पनीहरूलाई पर्याप्त समय र अवसर दिँदा पनि अपेक्षित प्रगति नभएकाले अब कडा कदम चाल्न सरकार तयार रहेको उनले बताए ।
‘संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ। अब यो आयोजनालाई थप लम्ब्याउन जोखिम मोल्ने वा व्यवसायीलाई थप सुविधा दिने कुनै बाटो छैन,’ उनले भने, ‘सरकार यो आयोजनाको अवधि तीन वर्षभन्दा बढी लम्बिएको हेर्न चाहँदैन।’
ठेक्का रद्द गरिने खण्डमा बाँकी काम अघि बढाउन पुनः टेन्डर प्रक्रिया सुरु गरिने मन्त्री लम्सालले जानकारी दिए । काठमाडौँतर्फको प्रारम्भिक बिन्दुमा देखिएका समस्या समाधान गरी अवरुद्ध कामलाई गति दिने सरकारको तयारी रहेको उनको भनाइ छ ।
निर्माणका लागि मुख्य सिजन सुरु भइसकेको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार उल्लेख्य प्रगति हासिल गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका छन् । निर्धारित समयभित्र काम सम्पन्न हुने सुनिश्चितता नभए ठेक्का अन्त्य गर्न पछि नहट्ने उनले चेतावनी दिए ।




प्रतिक्रिया