दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएकाे आदेशमा के छ?(आदेशसहित)


काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई आईजीपी पदमा पुनर्बहाली नगर्नुपर्ने कारण भए पेश गर्न सरकारसहित विपक्षीका नाममा आदेश दिएको हो ।

सर्वोच्चले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे पनि अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षबीच छलफल गरेर निर्णय गर्ने जनाएको छ । त्यसका लागि आगामी सोमबार ७ मंसिरमा उपस्थित हुन दुवै पक्षलाई बोलाइएको छ ।

त्यस्तै, कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने तथा एआईजी डा. मनोज शर्मालाई आईजीपीमा बढुवा गर्ने निर्णयको प्रमाणित प्रतिलिपि अदालतमा पेश गर्न आदेश दिइएको छ । उक्त निर्णयसँग सम्बन्धित अन्य कागजातसमेत बुझाउन सर्वोच्चले भनेको छ ।

यसैगरी, मुद्दाको विषयवस्तु र प्रकृति हेर्दा छिटो टुंग्याउनुपर्ने देखिएको भन्दै सर्वोच्चले रिटलाई अग्राधिकार दिएको छ । अग्राधिकार प्राप्त मुद्दाले अदालतमा प्राथमिकता पाउने व्यवस्था छ ।