सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण


सल्यान । नेपालको २७औँ प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको सम्मानमा सल्यानको श्रीनगरमा शालिक निर्माण गरी अनावरण गरिएको छ । शारदा नगरपालिका–१ स्थित रुकुम चोकमा निर्माण गरिएको शालिक स्थानीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गरेका हुन् ।

सल्यानी युवाहरूको पहलमा निर्माण गरिएको शालिक अनावरणसँगै उक्त चोकको नाम परिवर्तन गरी ‘मरिचमान चोक’ राखिएको छ । श्रेष्ठको जन्मभूमिमै उनको स्मृतिमा शालिक निर्माण गरिएको हो ।

विसं १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठले प्रारम्भिक शिक्षा जिल्लामै हासिल गरेका थिए । उनले खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकका रूपमा काम गरेका थिए । शिक्षण पेसाबाट सार्वजनिक जीवन सुरु गरेका श्रेष्ठ पछि राष्ट्रिय राजनीतिमा सक्रिय भएका थिए ।

विसं २०३० मा राष्ट्रिय पञ्चायत सदस्य बनेका उनी २०३८ मा राष्ट्रिय पञ्चायतको अध्यक्ष भए । त्यसपछि विसं २०४३ मा नेपालको २७औँ प्रधानमन्त्री नियुक्त भएका श्रेष्ठले २०४६ सालसम्म सरकारको नेतृत्व गरेका थिए । उनी पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्रीसमेत हुन् ।

श्रेष्ठ प्रधानमन्त्री रहेका बेला नेपाल–भारत सम्बन्धमा तनाव उत्पन्न भएको थियो । विसं २०४५ मा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि उनको नेतृत्वको सरकारले वैकल्पिक माध्यमबाट अत्यावश्यक वस्तु तथा इन्धन आपूर्तिको प्रयास गरेको थियो ।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायती व्यवस्था अन्त्य भएसँगै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सक्रिय राजनीतिबाट टाढिएका श्रेष्ठले काठमाडौंमा कृषि तथा पशुपालनमा समय बिताएका थिए ।

उनको विसं २०७० साउन ३० गते काठमाडौंमा निधन भएको थियो ।

श्रेष्ठको राजनीतिक जीवन, योगदान र व्यक्तित्वलाई नयाँ पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको आर्थिक संयोजक खिम डिसीले जानकारी दिएका छन् ।