समयमै काम सम्पन्न नगर्ने चार निर्माण व्यवसायी कालाे सूचीमा


४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा उनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालि रहेका छन् ।

कार्यालयका अनुसार सडक डिभिजन चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा मालिका बस्नेत निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति शान्तबहादुर बस्नेत हुन् ।

त्यस्तै, सडक डिभिजन महेन्द्रनगरको सिफारिसमा पञ्चकोटी निर्माण सेवालाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति हरिस सिंह बुढाल रहेका छन् ।

यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिकाको सिफारिसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० स्थित आदित्य सप्लायर्सलाई दुई वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । उक्त सप्लायर्सकी मुख्य व्यक्ति लिला देवी शाह हुन् ।

नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका–३५, सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई भने एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति सुरेश पण्डित हुन् ।