सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्ने


४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आगामी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जान लागेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिँदै मंसिर ७ गते दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने बताए।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको सचिव राईले जानकारी दिए।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्। सरकारी भ्रमण टोली ३४ सदस्यीय रहनेछ।

यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि प्रधानमन्त्रीसँगै भारत जानेछ। व्यवसायीहरूले भ्रमण खर्च आफैँ व्यहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू पनि आफ्नै खर्चमा भारत जाने भएका छन्।