निर्वाचन आयोग पुगेर छलफलमै नबसी किन फर्किए ओली ?


४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोग पुगेर राजनीतिक दलहरूसँगको छलफलमा सहभागी नभई फर्किएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएको थियो। सोही छलफलमा सहभागी हुन आयोग पुगेका ओली केहीबेरमै बाहिरिएका हुन्।

आयोगबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ओलीले आफू उपस्थित हुनुको कारणबारे व्यंग्यात्मक जवाफ दिए। ‘आउँदै आएन भन्ने नपरोस् भनेर आएको,’ उनले भने।

छलफलमा एमालेका तर्फबाट पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी छन्।

आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू भने छलफलमा सहभागी भइरहेका छन्।