काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अल्बर्टा प्रादेशिक कमिटीका सदस्य निश्चल नेपालले आफूहरू संसारको जुनसुकै कुनामा रहे पनि मन र मुटु जन्मभूमि नेपालमै रहेको बताएका छन्।
प्राइम टेलिभिजन एचडीको कार्यक्रम ‘साझा समय’मा कुराकानी गर्दै नेपालले विदेशमा रहेका नेपालीहरूको साझा माग ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतालाई व्यवहारमै स्थापित गर्नु रहेको बताए।
उनले विदेशमा रहेका नेपालीलाई वंशजका आधारमा नागरिकताको निरन्तरता दिन सरकारसँग आग्रह गरे। यस विषयमा विभिन्न निकायमा छलफल भइरहेको उल्लेख गर्दै उनले केही समयभित्र सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।
‘हामी जो–जो विदेशमा छौँ, हामी सबैको विचार र माग एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हो। हाम्रो पहिचान पनि त्यसरी नै खुलोस् र सरकारले वंशजकै आधारमा नागरिकता प्रदान गरोस् भन्ने चाहना छ,’ उनले भने, ‘अहिलेको नयाँ सरकारप्रति हामी निकै सकारात्मक छौँ। केही समय लाग्न सक्छ, तर हामी आशावादी छौँ।’
वंशजको नागरिकताको निरन्तरताले विदेशमा रहेका नेपालीलाई आफ्नो पहिचान कायम राख्न सहज हुने उनको भनाइ छ। यसबाट नेपालमा मतदान गर्न पाउनेलगायतका अधिकार र विभिन्न सेवा–सुविधा प्राप्त गर्न पनि सहज हुने उनले बताए।
नेपाली नागरिकता त्यागेका व्यक्ति कसरी ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हुन सक्छन् भन्ने प्रश्नमा नेपालले विभिन्न बाध्यता र परिस्थितिका कारण नागरिकता त्याग्नुपरे पनि आफ्नो जन्मभूमिप्रतिको माया नहराउने तर्क गरे।
‘विभिन्न कारणले नेपाली नागरिकता त्यागेको हुन सक्छ। तर यसको अर्थ आफ्नो देश र माटो बिर्सिएको भन्ने होइन। मानिस जहाँ पुगे पनि आफ्नो जन्मभूमिप्रतिको माया रहिरहन्छ,’ उनले स्पष्ट पारे।
दुई देशको नागरिकता राख्न सम्भव छ कि छैन भन्ने प्रश्नमा उनले विश्वका विभिन्न मुलुकमा दोहोरो नागरिकताको व्यवस्था रहेको उदाहरण दिँदै नेपालमा पनि यस विषयलाई असम्भवका रूपमा लिन नहुने धारणा राखे। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सरकारको नीतिमा निर्भर रहने उनको भनाइ थियो।
नेपालले आफूले भने हालसम्म नेपाली नागरिकता नत्यागेको जानकारी दिए। भविष्यमा पुनः नेपालमै फर्केर बस्नुपर्ने अवस्था आउन सक्ने सोचका कारण आफूले क्यानडाको नागरिकता नलिई नेपाली नागरिकता नै कायम राखेको उनले बताए।
कार्यक्रममा उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति पनि सकारात्मक धारणा व्यक्त गरे। सरकारले प्रारम्भिक चरणमै राम्रा काम गर्ने संकेत देखाएको उल्लेख गर्दै उनले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्गका लागि सहज वातावरण निर्माण हुन थालेको आफूले महसुस गरेको बताए।
विदेशमा कामको स्तरका आधारमा मानिसलाई विभेद नगरिने उल्लेख गर्दै उनले नेपालमा पनि श्रमको सम्मान गर्ने संस्कार विकास गर्न सरकारलाई सुझाव दिए।
‘विदेशमा क्लिनरदेखि उच्च तहसम्मका सबै काम गर्ने व्यक्तिलाई सम्मान गरिन्छ। काम सानो वा ठूलो हुँदैन। नेपालमा पनि तल्लो तहमा काम गर्ने श्रमिकलाई उचित पारिश्रमिक दिएर परिवारको पालनपोषण गर्न पुग्ने वातावरण बनाउनुपर्छ,’ उनले सुझाव दिए।
उनले बालेन नेतृत्वको सरकारले देशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सरकारका कामकारबाहीप्रति समर्थन र सकारात्मक साथ रहने प्रतिबद्धता पनि जनाए।
नेपाल गायकसमेत हुन्। उनले विभिन्न चर्चित नेपाली गीतमा आफ्नो स्वर दिइसकेका छन्।




प्रतिक्रिया