काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डको घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर भीर कटान गर्ने तयारी गरिएको छ । सडक माथिबाट निरन्तर ढुङ्गा र माटो खस्ने क्रम नरोकिएपछि जोखिमयुक्त भीरको माथिल्लो भाग नै काटेर सडक सुरक्षित बनाउन लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले भीर कटान तथा रोकथामको काम अघि बढाउन दैनिक चार घण्टा सवारी आवागमन रोक्ने योजना बनाएको छ ।
आयोजनाका इन्जिनियर अशोक देवकोटाका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको क्रममा रहेको उक्त खण्डमा पहिरोको जोखिम हटाउन भीर कटान आवश्यक देखिएको छ । सवारीसाधन सञ्चालन भइरहँदा सुरक्षित रूपमा काम गर्न कठिन हुने भएकाले निश्चित समय सडक बन्द गरेर काम गर्ने तयारी गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जोखिमयुक्त सडक खण्डको स्थलगत निरीक्षणसमेत गरिसकेको छ । सडक बन्द गरेर काम गर्ने प्रस्ताव आयोजनाले प्रशासनसमक्ष राखेको भए पनि त्यससम्बन्धी औपचारिक निर्णय भने आइसकेको छैन ।




प्रतिक्रिया