अमरेश सिंहको दाबी : रास्वपा एकढिक्का छ, बालेन सरकार पाँच वर्ष चल्छ


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै विवाद नरहेको र वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने दाबी गरेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित मेची–महाकाली पैदल यात्राका क्रममा विराटनगर पुगेका सिंहले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबीच कुनै मतभेद नरहेको स्पष्ट पारे ।

पार्टीभित्र गुटबन्दी रहेको तथा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच सम्बन्ध चिसिएको भन्ने चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा उनले त्यस्तो कुनै अवस्था नरहेको बताए ।

‘हाम्रो सरकार पाँच वर्ष चल्छ । न रवि लामिछाने र बालेन शाहको बीचमा अन्तरद्वन्द्व छ, न अमरेश सिंह र बालेन शाहको बीचमा कुनै अन्तरद्वन्द्व छ । हामी एकढिक्का छौँ,’ उनले भने ।

आफू प्रधानमन्त्री बन्ने तयारीमा नरहेको र मधेशमा छुट्टै पार्टी गठन गर्ने योजना पनि नभएको उनले प्रस्ट पारे । रास्वपाकै ब्यानरमा पार्टी सभापतिबाट उद्घाटन गराएर आफू पदयात्रामा निस्किएको उनको भनाइ थियो ।

त्यस्तै, बालेन शाह नेतृत्वको सरकारमा आफू किन सहभागी नभएको भन्ने प्रश्नमा सिंहले पदका लागि राजनीति नगर्ने दाबी गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत आफूले अस्वीकार गरेको उनले बताए ।

विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यकालमा पनि मन्त्री पद अस्वीकार गरेको स्मरण गर्दै उनले अहिले पनि आफूलाई कुनै पदको चाहना नरहेको बताए ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मैले नलिएकै हो । १५ दिनसम्म मेरै लागि खाली थियो । म आम मधेशी नेताको लाइनमा खडा हुनेवाला छैन । म बिना धूपबत्ती एउटा यज्ञ गरिराखेको छु कि मधेशीको छोरा न बिक्छ, न डराउँछ,’ उनले भने ।

महात्मा गान्धीबाट राजनीतिक प्रेरणा लिएको उल्लेख गर्दै सिंहले आफू राजनीतिमा नयाँ मानक स्थापित गर्ने अभियानमा रहेको बताए ।