६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा पराजय भोगेको नेपाली टोली आज यूएईलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग लज्जास्पद हार बेहोरेको थियो। भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमै २६ रनमा अलआउट भएको थियो।
पहिलो खेलमा ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालका लागि आजको खेलमा सुधारिएको प्रदर्शन गर्नु चुनौती हुनेछ। यूएईविरुद्ध जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउने नेपालको लक्ष्य रहनेछ।
नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्। यस समूहअन्तर्गत भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीचको खेल पनि आजै हुँदैछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।




प्रतिक्रिया