सुनसरीबाट करिब पाँच क्विन्टल गाँजासहित चालक पक्राउ


सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले करिब पाँच क्विन्टल गाँजासहित एक जना चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ निवासी अजयकुमार साह रहेका छन् ।

प्रहरीका अनुसार गएराति भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ११ वाई ३०३९ को स्कार्पियो गाडीलाई धरान–२ भानुचोकमा जाँचका लागि रोक्न खोजिएको थियो । तर, चालकले प्रहरीको निर्देशन अवज्ञा गर्दै गाडी अगाडि बढाएपछि प्रहरीले पछ्याएको थियो ।

प्रहरीले धरानस्थित सेउती पुलबाट चालक साहलाई नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख भिष्णुबाबु राईले जानकारी दिनुभयो ।

गाडीको खानतलासी गर्दा १६ वटा कालो बोरामा लुकाएर राखिएको चार क्विन्टल ९९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित स्कार्पियो गाडी र चालक साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।