नयाँ पुस्ताको नेतृत्वलाई स्वागत गर्न आतुर दिल्ली


काठमाडौँ । सामान्यतः औपचारिकता र तामझामबाट टाढा देखिने छवि बनाएका प्रधानमन्त्री बालेन्द्र शाह ३४ सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाली ध्वजावाहक विमानमार्फत आज नयाँदिल्ली प्रस्थान गर्दै छन्।

नेपालका प्रधानमन्त्री आउने भएपछि भारतको राजधानी नयाँदिल्लीमा दिल्ली गेटदेखि कूटनीतिक वार्ताको मुख्य केन्द्र हैदराबाद हाउस र विश्रामस्थल ताज होटल आसपासको क्षेत्र नववधुझैँ सिँगारिएको छ। ती मुख्य सडक र चोकहरूमा नेपाल र भारतका प्रधानमन्त्रीका तस्बिरसँगै नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

कूटनीतिक वृत्तमा पाहुनाको स्वागतमा गरिने यस्तो भौतिक सजावटलाई आतिथ्य सत्कारका रूपमा मात्र हेरिँदैन। परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूसँग लामो समयदेखि संवाद गर्दै आएको भारतीय संस्थापन पक्षले रास्वपाको नयाँ राजनीतिक पुस्ता र फरक कार्यशैली बोकेका प्रधानमन्त्री शाहलाई स्वागत गर्न देखाएको यो तत्परता अर्थपूर्ण छ।

राजकीय भ्रमणको अवधि जम्मा दुई दिनको रहेकाले समय निकै छोटो छ, तर एजेन्डाका चाङ भने उस्तै छन्। दिल्लीका मुख्य चोकमा फहराइएका झण्डा र स्वागतका ब्यानरहरूले भ्रमणको सुरुवाती माहोल त सुखद् बनाएका छन्, तर हैदराबाद हाउसको बन्द कोठाभित्र हुने द्विपक्षीय वार्ताले नेपाल–भारत सम्बन्धका पेचिला मुद्दाहरूमा कस्तो निकास निकाल्छ, त्यो भने हेर्न बाँकी नै छ।