हिन्दु राष्ट्र स्थापनाका लागि सडक र सदनबाट आवाज उठाउनुपर्छ: खुश्बु ओली


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दु राष्ट्र पुनःस्थापनाको मागलाई सशक्त बनाउन सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्ने बताएकी छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद ओलीले धार्मिक गुरुहरूलाई मठमन्दिरमा आउने राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र स्थापनाका लागि दबाब दिन आग्रह गरिन् ।

मन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भन्दै प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । हिन्दु समुदायका मुद्दामा प्रभावकारी रूपमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास कमजोर हुँदै गएको उनले टिप्पणी गरिन् ।

त्यस्तै, गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्नेमा उनले जोड दिइन् ।

हिन्दु राष्ट्र स्थापनाको माग संसद्भित्र र बाहिर दुवै मोर्चाबाट अघि बढाउनुपर्ने उल्लेख गर्दै ओलीले राप्रपाले संसद्मा आवाज उठाउने र धार्मिक गुरुहरूले संसद्बाहिरबाट दबाब सिर्जना गर्नुपर्ने बताइन् ।