काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनताले भोग्नुपरेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए। दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको उल्लेख गर्दै उनले सरकार जनताको सुख, सुविधा र सहजताका लागि जिम्मेवार हुनुपर्ने बताए।
जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला शासनमा रहेकाहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको उनको टिप्पणी थियो।
पोखरेलले सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा समेत नकारात्मक प्रभाव पारिरहेको भन्दै चिन्ता व्यक्त गरे।
सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार निरन्तर सामग्री देखाउने प्रवृत्तिले मानिसको सिर्जनशीलता र मानसिक अवस्थामा समेत असर पार्न सक्ने उनको भनाइ थियो।
नेपाली समाज लाइक र भ्युजको पछि लागिरहेको टिप्पणी गर्दै उनले सामाजिक सञ्जालको अत्यधिक मोहले मुलुकको परम्परा, संस्कृति र सभ्यतामाथि समेत चुनौती थपिएको बताए।
कार्यक्रममा पोखरेलले भने, ‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरू भनौँ, सबैभन्दा पीडा जनतालाई भएको छ। किन भएको छ भने महँगी बढेको बढ्यै छ। दुई वर्षअगाडि बजारभाउ के थियो र अहिले दुई वर्षपछि बजारभाउ के छ भनेर हेर्ने हो भने आकाश–जमिनको अन्तर छ।’
उनले सरकार जनताको सुखका लागि हुनुपर्ने भन्दै जनताले दुःख पाइरहँदा शासनमा रहेकाहरूले चमत्कार गर्ने आश्वासन मात्रै बाँडिरहेको आरोप लगाए।
सामाजिक सञ्जालको प्रभावबारे उनले भने, ‘हामीले यो मोबाइलको भाँडोलाई मोहनी लगाइदियौँ। यदि तपाईंले केही कुरा हेर्नुभयो भने यसलाई यही चिज मन पर्दो रहेछ भन्छन् र पठाएको पठायै गर्छन्।’




प्रतिक्रिया