काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोसी बाढीपीडितलाई पुनःस्थापनाका लागि सार्वजनिक जग्गा उपलब्ध नभए निजी जग्गा खरिद गरेर भए पनि दिनुपर्ने बताएका छन्।
आइतबार भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै थापाले बाढीपीडितको सुरक्षित पुनःस्थापनाका लागि जग्गाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले नयाँ बस्ती बसाल्नुअघि सडक निर्माणको स्पष्ट योजना तयार गर्नुपर्ने बताए। सडक कहाँबाट कहाँसम्म निर्माण हुने भन्ने विषय टुंगो लागेपछि मात्रै बस्ती कहाँ बसाल्ने भन्ने निर्णय गर्न सहज हुने उनको भनाइ थियो।
‘अब बन्ने सडक कहाँबाट कहाँसम्म बन्ने हो, पहिले त्यो टुंगो हुनुपर्ने देखिन्छ। बाटो बन्न समय लाग्ला, तर यहाँबाट बन्छ भन्ने टुंगो भइसकेपछि बस्ती कहाँ–कहाँ बस्ने भन्ने कुरा आउँछ,’ थापाले भने।
बाढीपीडितको अवस्था बुझ्न र स्थानीय बासिन्दासँग छलफल गर्न थापा दोस्रो पटक प्रभावित क्षेत्रमा पुगेका हुन्।
अवलोकनका क्रममा उनले रसुवा, नुवाकोट र धादिङमा उपलब्ध सार्वजनिक जग्गाको विवरण संकलन गरेर पुनःस्थापनाका लागि उपयोग गर्न सकिने बताए।
‘रसुवा, नुवाकोट र धादिङमा सार्वजनिक जग्गा कहाँ–कहाँ छ भन्ने तथ्यांक छन्, खोज्न मिलिहाल्छ, समय लाग्दैन। सार्वजनिक जग्गा छैन भने निजी जग्गा किनेर दिनुको विकल्प छैन,’ थापाले भने।




प्रतिक्रिया