मोदी–बालेन वार्तामा सीमा विवाद र एयर रुटको मुद्दा नउठ्ने संकेत


नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा सीमा विवाद र थप हवाई प्रवेश मार्ग (एयर रुट) को विषयले प्राथमिकता नपाउने संकेत देखिएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी अधिकारीहरूका अनुसार आधा घण्टाका लागि तय गरिएको दुई प्रधानमन्त्रीबीचको वान टु वान भेटवार्ता र त्यसपछि हुने प्रतिनिधिमण्डलस्तरीय छलफलको औपचारिक एजेन्डामा यी विषय समावेश छैनन्। यद्यपि, अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहेको बताइएको छ।

‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनःकल्पना’ शीर्षकमा दुई देशबीच विभिन्न सहमति तथा सम्झौता गर्ने तयारी छ। त्यसअन्तर्गत व्यापार तथा आर्थिक साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, शिक्षा, प्रविधि, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिसहित १० क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय समेटिएका छन्।

त्यस्तै, सन् १९५० को शान्ति तथा मैत्री सन्धिमाथि आपसी समझदारीमा पुनर्विचार, रामायण, बौद्ध र शिव–शक्ति सर्किटको विकास तथा विभिन्न विकास परियोजनामा सहकार्य गर्ने विषय पनि छलफलमा रहने बताइएको छ।

नेपालले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन लामो समयदेखि भारतसँग आग्रह गर्दै आएको छ। तर यस विषयमा भारतीय पक्षबाट अझै ठोस सहमति जुट्न सकेको छैन।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर २५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिनकुमारले स्वागत गरेका थिए।

त्यसपछि होटल ताज पुगेका प्रधानमन्त्री शाहलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले भेट गरेका थिए। भेटमा सोमबार हुने मोदीसँगको वार्ता तथा सम्भावित सहमति र सम्झौताबारे छलफल भएको थियो।

जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालसँगको विशेष मित्रतालाई भारतले सधैँ कदर गर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहको भ्रमणप्रति खुसी व्यक्त गरेका थिए।

दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्। उच्चस्तरीय वार्तापछि केही परियोजनाको उद्घाटन, शिलान्यास तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।