त्रिविको एमबीएस र एमपीए प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि), व्यवस्थापन संकाय डिनको कार्यालयले सेमेस्टर प्रणालीमा सञ्चालित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) कार्यक्रमको प्रवेश परीक्षा–२०८३ को कार्यतालिका सार्वजनिक गरेको छ।

भर्ना वर्ष २०८३ का लागि दुवै कार्यक्रम सञ्चालन भइरहेका क्याम्पस तथा कलेजमा भर्ना प्रक्रिया सुरु गरिएको संकायले जनाएको छ।

सार्वजनिक कार्यतालिकाअनुसार इच्छुक विद्यार्थीले मंसिर ७ गतेदेखि पुस २१ गतेसम्म आवेदन फाराम भर्न सक्नेछन्। प्रवेश परीक्षा भने पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ। नयाँ शैक्षिक सत्रको नियमित कक्षा माघ १८ गते सोमबारदेखि सुरु हुने जनाइएको छ।

प्रवेश परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी तथा बिजनेस एन्ड इकोनोमिक्स वा जनरल अवेयरनेस विधाबाट २५/२५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्।

स्नातक तहको परीक्षामा सहभागी भई नतिजा पर्खिरहेका विद्यार्थीले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्। तर प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना हुने समयमा स्नातक तह उत्तीर्ण गरेको लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) अनिवार्य पेस गर्नुपर्नेछ।

परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण संकायको वेबसाइटमार्फत पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ।