काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले निर्माणजन्य सामग्रीको उपयोगबारे छलफल धेरै हुने तर काम नहुने प्रवृत्तिका कारण मुलुकले आर्थिक अवसर गुमाइरहेको बताए ।
जलविद्युत्को सम्भावना समयमै उपयोग गर्न नसक्दा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उदाहरण दिँदै मन्त्री साहले निर्माणजन्य सामग्रीको निर्यातमा अब ढिलाइ गर्न नहुनेमा जोड दिए । भारत र बंगलादेशमा निर्माण सामग्रीको माग बढिरहेको उल्लेख गर्दै उनले नेपालका नदीमा थुप्रिएर रहेका निर्माणजन्य खनिजको सदुपयोग गर्नुपर्ने बताए ।
उनले कोशी नदीमा ठूलो परिमाणमा बालुवा रहेको र त्यसको उत्खनन तथा उपयोग गर्न सकिने बताए । आगामी १० वर्षभित्र त्यस्ता सामग्रीको व्यवस्थापन गर्न नसके नदीको सतह बढ्दै गएर मुलुककै लागि भार बन्न सक्ने उनको चेतावनी थियो ।
‘नेपालमा छलफल धेरै हुन्छ तर काम सम्पन्न हुँदैन, त्यही कारणले हामीले अवसर गुमाइरहेका छौँ । १५ वर्ष पहिले जलविद्युत्को जस्तो अवसर थियो, अहिले त्यस्तो छैन र समयमै काम नहुँदा वर्षको ३ खर्ब रुपैयाँ गुमाइरहेको उदाहरण हामीसँग छ,’ मन्त्री साहले भने ।
उनले भारत र बंगलादेशलाई अहिले निर्माण सामग्री आवश्यक रहेको उल्लेख गर्दै कोशी नदीमा थुप्रिएको बालुवालाई आगामी १० वर्षभित्र उपयोग गर्नुपर्ने बताए ।
‘त्यसैले राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवर्द्धन कार्यक्रम तुरुन्तै ल्याउनुपर्छ,’ उनले भने ।




प्रतिक्रिया