काठमाडौँ । परराष्ट्र मामिलाका जानकार तथा भू-राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा विगतमा रहेको सुषुप्त तनावलाई अन्त्य गरेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणः उपलब्धि, कूटनीतिक सन्तुलन र नेपालको राष्ट्रिय हित’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै सुवेदीले भ्रमण आर्थिक र रणनीतिक रूपमा फलदायी भएको टिप्पणी गरे ।
नेपाल–भारत सम्बन्ध दुवै देशका लागि अपरिहार्य भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देखिएको सुषुप्त तनाव प्रम बालेनको भ्रमणबाट मुक्त भएको धारणा राखे । ‘परराष्ट्र सम्बन्धमा भरसक प्रतिपक्ष हुनु हुँदैन,’ सुवेदीले भने, ‘सीमा र ईपीजी जस्ता प्राविधिक विषयलाई भ्रमणको सुरुवाती एजेन्डा बनाउनु हुँदैन भन्ने मेरो सुझाव थियो । प्रधानमन्त्री बालेनको भ्रमणमा त्यहीअनुसार कार्य भएकोमा खुसी छु ।’ उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन गर्तमा गएको भन्दै त्यसप्रति सन्तोषसमेत व्यक्त गरे ।
भ्रमणका क्रममा भएका सम्झौताहरूको चर्चा गर्दै सुवेदीले नेपाललाई उपलब्ध गराउने सहमति भएको बन्दरगाह (पोर्ट) इन्धन आपूर्तिका लागि ‘गेमचेन्जर’ साबित हुने दाबी गरे । पेट्रोलियम पाइपलाइन विस्तार र आर्थिक–रणनीतिक क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताउँदै उनले अब त्यसबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिए ।
विगतका कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारहरूले नेपाल–भारत सांस्कृतिक सम्बन्धको आर्थिक पाटोलाई कहिल्यै महत्त्व नदिएको सुवेदीको आरोप छ । ‘हिजोका प्रधानमन्त्रीहरूले पशुपतिनाथ, मुक्तिनाथलगायतका सम्पदालाई तीर्थाटनका रूपमा बजारीकरण गर्न सकेनन्,’ उनले भने, ‘प्रधानमन्त्री बालेनले तीर्थाटनको क्षेत्रमा महत्त्वपूर्ण काम गर्नुभएको छ ।’
कांग्रेस र एमालेका नेता–कार्यकर्ताका सामाजिक सञ्जालमा अझै पनि आरएसएस र भारतीय जनता पार्टी (बीजेपी) विरोधी भावना देखिने गरेको उल्लेख गर्दै सुवेदीले प्रधानमन्त्री बालेनले भने सांस्कृतिक राष्ट्रियतामार्फत नेपाल र भारतलाई भावनात्मक सम्बन्धले जोड्ने प्रयास गरेको बताए ।




प्रतिक्रिया