काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेकाे पोस्ट चर्चामा आइरहन्छन् । उनका पोस्टमा शब्द कम हुन्छन्, तर त्यसले दिने सन्देश र संकेतबारे सामाजिक सञ्जालमा चर्चा भने निकै हुने गरेको छ ।
यसैक्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको एउटा तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा उनीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल देखिएका छन् ।
तस्बिर सार्वजनिक गर्दै शाहले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
प्रधानमन्त्रीको यो पोस्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा लाइक र कमेन्टको ओइरो लागेको छ ।
यो पहिलोपटक भने होइन, प्रधानमन्त्री शाहले यसअघि पनि मन्त्रीहरूसँगको तस्बिरलाई छोटो क्याप्सनमार्फत सार्वजनिक गरेका थिए । केही समयअघि उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग अँगालो मारिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।
त्यस तस्बिरमा प्रधानमन्त्री शाहले ‘देश बनाउने टोली’ लेखेका थिए । कालो पहिरनमा देखिएका उनले पोस्टमा ‘पीएम, एचएम, आईएम’ अर्थात् प्रधानमन्त्री, गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको संक्षिप्त परिचयसमेत दिएका थिए ।
यी दुई तस्बिरले प्रधानमन्त्रीको प्राथमिकतामा रहेका फरक–फरक क्षेत्रका मन्त्रीहरूलाई एउटै सन्देशमा जोडेको देखिन्छ । एउटा तस्बिरमा देश निर्माणको प्रतिबद्धता झल्काउने प्रयास छ भने अर्कोमा देशको आर्थिक र कूटनीतिक पक्ष सम्हाल्ने टोलीप्रति विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीका यी पोस्टले अहिले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म चर्चा पाएका छन्।




प्रतिक्रिया