सरकारलाई गगन थापाकाे चुनाैती: प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध अनुसन्धान वा कारबाही गर्न खोजिए कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताएका छन् । उनले पक्राउ गर्न आउँदा खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौतीसमेत दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफू वा पार्टीका अन्य नेताविरुद्ध हुने कुनै पनि अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने स्पष्ट पारे ।

तर, राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन नगर्न उनले सरकारलाई चेतावनी दिए । राज्यका संयन्त्र सत्य र न्यायको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,’ उनले भने ।

पछिल्लो समय व्यक्तिगत जीवनलाई समेत जोडेर प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत डर सिर्जना गर्ने प्रयास भइरहेको थापाको टिप्पणी थियो ।

‘व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ । तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,’ उनले भने ।