प्रधानमन्त्री बालेनको भारत भ्रमण अत्यन्तै फलदायी र उपलब्धिमूलक : ऋषि धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अत्यन्तै फलदायी र उपलब्धिमूलक भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणः उपलब्धि, कूटनीतिक सन्तुलन र नेपालको राष्ट्रिय हित’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको दाबी गरे ।

प्रधानमन्त्री बालेनको भ्रमणका क्रममा आफू पनि तीन दिन भारत बसेको उल्लेख गर्दै धमलाले भने, ‘प्रधानमन्त्री बन्नेबित्तिकै पहिलो औपचारिक भ्रमण भारतबाटै गर्नुपर्छ भनेर मैले नै भन्दै आएको थिएँ । प्रधानमन्त्रीको भारत भ्रमण राम्रो, फलदायी र उपलब्धिमूलक भएको छ ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच सुरुमा ३० मिनेटका लागि तय भएको वान टु वान वार्ता डेढ घण्टासम्म चलेको जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले भारतले गरेको विकास र प्रगतिका बारेमा निकै चासो राखेको तथा नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा समकक्षी मोदीसँग गम्भीर विचार विमर्श गरेको धमलाले बताए ।

भारतीय उच्च अधिकारीहरूसँगको आफ्नो भेटको प्रसंग कोट्याउँदै धमलाले ऊर्जा र हवाई रुटका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गरे ।
‘भारतका ऊर्जामन्त्रीले मसँगको कुराकानीमा नेपालले जति बिजुली उत्पादन गरे पनि भारतले खरिद गर्छ भन्नुभएको छ,’ धमलाले भने, ‘त्यस्तै, हवाई रुट उपलब्ध गराइएका कारण अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानहरू आउने भएका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा काँचुली फेर्नेछ ।’

भारतीय विदेशमन्त्री एस. जयशंकरले समेत प्रधानमन्त्री बालेनको भारत भ्रमण पूर्णरूपमा सफल भएको प्रतिक्रिया दिएको धमलाको दाबी छ । विगतका सरकारका पालामा भएका सन्धि–सम्झौता कार्यान्वयन नभएको स्मरण गर्दै अध्यक्ष धमलाले यसपटक जनताको हितमा ठोस काम भएको बताए ।

नेपाल–भारतबीचको रोटीबेटी र धार्मिक सम्बन्धको चर्चा गर्दै धमलाले अयोध्याबाट जनकपुरसम्म रेल आइसकेको र अब दुई देशको सम्बन्धले नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । बालेन–मोदी भेटवार्तालाई भारतीय सञ्चारमाध्यमले समेत उच्च प्राथमिकताका साथ कभरेज गरेको र यसले विश्व राजनीतिमा समेत सकारात्मक सन्देश दिएको उनको तर्क थियो ।

नेपालमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउँदै धमलाले अब विदेशी लगानी भित्र्याएर दश वर्षभित्र देश बनाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए ।