धनगढी । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयनमा जान सकेको छैन। पूरक बजेट ल्याउने कि यसअघि नै पारित बजेट कार्यान्वयन गर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद हुँदा विकास निर्माणका काम प्रभावित भएका छन्।
यद्यपि, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले पूरक बजेट आउने सम्भावना नरहेको स्पष्ट पारेका छन्। नेकपा एमालेबाट सरकारमा सहभागी भण्डारीले पारित भइसकेको बजेट नै कार्यान्वयनमा जाने र अबको पाँचदेखि सात दिनभित्र बजेट कार्यान्वयनको बाटो खुल्ने दाबी गरेका हुन्।
मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी चक्र मल्लले सम्हालिरहेका छन्। बजेट कार्यान्वयन र पूरक बजेट ल्याउने विषयमा सत्तारूढ गठबन्धनका नेताहरूबीच मतभेद देखिँदै आएको छ।
मन्त्री भण्डारीका अनुसार प्रदेशसभाबाट बजेट पारित भइसकेको र रातो किताबसमेत सार्वजनिक भइसकेकाले अब पूरक बजेट ल्याउने विषय सान्दर्भिक छैन।
‘बजेट पास भइसकेको छ। रातो किताबसमेत आइसकेको छ। अब कार्यान्वयनमा जान मात्रै बाँकी हो। पूरक बजेट कसरी आउँछ र ? यसको सम्भावना नै छैन। कानुनी रूपमा पनि त्यस्तो देखिँदैन,’ उनले भने।
यसअघि मुख्यमन्त्री भट्ट र आर्थिक मामिलामन्त्री मल्लले पूरक बजेटका विषयमा विभिन्न धारणा सार्वजनिक गरेका थिए। उक्त विषयमा उनीहरूलाई नै बढी जानकारी हुने भण्डारीको भनाइ छ।
उनले चालु बजेटमा ठूलो फेरबदल नहुने पनि स्पष्ट पारे। बजेटमा रहेका केही कमजोरी, अस्वाभाविक देखिएका योजना तथा दोहोरिएका कार्यक्रमलाई मात्रै सच्याउन सकिने उनको भनाइ छ।
‘बजेटमा आमूल परिवर्तन हुनेवाला छैन। केही कमीकमजोरी भएका र दोहोरिएका योजनाबाहेक अरूमा ठूलो हेरफेर हुँदैन। अबको पाँचदेखि सात दिनभित्रै बजेट कार्यान्वयनको बाटो खुल्छ जस्तो लाग्छ,’ मन्त्री भण्डारीले भने।
बजेटसम्बन्धी अन्योलका कारण प्रदेशमा नयाँ विकास आयोजना अघि बढ्न सकेका छैनन्। बजेट कार्यान्वयनको विषयलाई लिएर उत्पन्न विवादले यसअघि प्रदेश सरकार परिवर्तनको अवस्थासमेत सिर्जना गरेको थियो।
लामो समयको राजनीतिक रस्साकस्सीपछि गत असोज २८ गते प्रदेशसभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको थियो। तर बजेट पारित भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन सुरु नहुँदा प्रदेशको विकास खर्च र सरकारी सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ।




प्रतिक्रिया