रोल्पाको तार्केबाङ खोलामा १२ करोड लागतमा पक्की पुल बन्ने, वर्षमान पुनले गरे शिलान्यास


१० मंसिर, रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भाबाङ र वडा नम्बर ४ तालाबाङलाई जोड्ने तार्केबाङ खोलामा पक्की मोटरेबल पुल निर्माण हुने भएको छ।

लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको उक्त पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले बुधबार शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा बोल्दै पुनले पुल निर्माण कार्य करिब २१ महिनाभित्र सम्पन्न हुने बताए। यस वर्षका लागि बजेट सुनिश्चित हुनुका साथै बहुवर्षीय ठेक्का स्वीकृत भइसकेकाले निर्धारित समयमै निर्माण सम्पन्न हुने उनको विश्वास छ।

पुल निर्माण भएपछि माडी गाउँपालिकाका वडा नम्बर ४ र ५ का स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने र स्थानीय क्षेत्रको यातायात तथा विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारको बहुवर्षीय स्रोत सहमतिअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि पुल निर्माण गर्न ११ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।