काठमाडौँ । वर्षौंदेखि प्राविधिक र कूटनीतिक गाँठोमा अल्झिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर पुनः एकपटक आशाको सञ्चार छाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी सञ्चालन गर्न दुई देशबीच सहमति जुटेसँगै भैरहवाको आकाश फराकिलो हुने सङ्केत देखिएको हो
करिब ४० अर्ब रुपैयाँको लगानीमा निर्मित यो विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा सेतो हात्ती बन्ने जोखिममा थियो । हवाई मार्गको जटिलताका कारण पश्चिमतर्फबाट आउने जहाजहरूले सिमराको आकाश हुँदै लामो फन्को मार्नुपर्दा वायुसेवा कम्पनीहरूका लागि भैरहवा उडान आर्थिक र प्राविधिक रूपले महँगो साबित भएको थियो । अब हवाई मार्ग दुईतर्फी भएसँगै त्यो व्यावहारिक अवरोध हट्ने र अन्तर्राष्ट्रिय विमान कम्पनीहरूका लागि भैरहवा आकर्षक गन्तव्य बन्ने बाटो खुलेको हो ।
तर, यो सहमति एउटा विमानस्थलको उडान तालिकामा मात्र सीमित छैन। यसले समग्र लुम्बिनी प्रदेशको अर्थतन्त्र, धार्मिक पर्यटन र क्षेत्रीय सञ्जालमा दूरगामी प्रभाव पार्ने सामर्थ्य राख्छ ।
हवाई पहुँचको विस्तारले सबैभन्दा प्रत्यक्ष र गहिरो प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पार्नेछ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीलाई भारतका अन्य प्रमुख बौद्धस्थलहरू बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीसँग सीधा हवाई सञ्जालमा जोड्न सकिने सम्भावना अब बलियो बनेको छ ।
अन्तर्राष्ट्रिय उडानको नियमिततासँगै भैरहवा, बुटवल र आसपासको क्षेत्रको सुस्ताएको अर्थतन्त्रले नयाँ गति लिने निजी क्षेत्रको विश्वास छ । विमानस्थल निर्माणको घोषणासँगै अर्बौं रुपैयाँ लगानी गरेर खुलेका तारे होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामूलक व्यवसायहरू उडान अभावमा चरम सङ्कटमा थिए ।
भैरहवामा ओर्लिने पर्यटकलाई लुम्बिनीको बगैँचामा मात्र सीमित नराखी कपिलवस्तुको प्राचीन तिलौराकोट, बुद्धको मावली देवदह र अस्थुधातु रहेको नवलपरासीको रामग्रामसम्म पुर्याउन सकिएमा यस क्षेत्रको बसाइ अवधि र खर्च गर्ने क्षमता दुवै बढ्नेछ । यसबाट स्थानीय कृषि उपजको खपतदेखि हस्तकला र यातायात व्यवसायसम्मको मूल्य शृङ्खला बलियो बन्ने देखिन्छ ।
कूटनीतिक तहमा भएको यो सहमति आफैँमा स्वागतयोग्य भए पनि यसलाई धरातलमा उतार्न अझै केही प्राविधिक र व्यवस्थापकीय खुड्किलाहरू पार गर्न बाँकी छ । उड्डयन क्षेत्रका जानकारहरूका अनुसार दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच प्राविधिक कार्यविधि अद्यावधिक गर्ने र हवाई ट्राफिक व्यवस्थापनको समन्वय मिलाउने काम टुङ्गिन बाँकी नै छ । तसर्थ सहमतिलगत्तै भैरहवाको आकाशमा जहाजहरूको लर्को लागिहाल्छ भनी बुझ्नु हतार हुनेछ ।
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मृतप्रायः अवस्थामा सञ्जीवनी भर्ने काम गरेको छ । अबको चुनौती भनेको कूटनीतिक टेबलमा भएको यो सहमतिलाई जतिसक्दो छिटो प्राविधिक रूपान्तरण गर्नु र लुम्बिनीको पर्यटकीय पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु हो । यदि सरकार र निजी क्षेत्रले समन्वयात्मक ढङ्गले काम गर्न सके भैरहवाको यो खुला आकाशले लुम्बिनीको समृद्धिको ढोका सधैँका लागि खोल्नेछ ।




प्रतिक्रिया