काठमाडौं । मलेसियामा कामदार पठाउने नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई उनीहरूमाथि थप अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो।
यसअघि अदालतले आरोपीहरूलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान अझै बाँकी रहेको भन्दै सीआईबीले पुनः म्याद थपका लागि अदालतसमक्ष माग गरेको थियो।
इनम सापकोटासहित तीन जनाको पनि म्याद थप
यसै प्रकरणसँग जोडिएको बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीन जनालाई पनि थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सापकोटासँगै व्यवसायी महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको समेत हिरासत अवधि थप गरिएको हो।
सापकोटासँगको सम्पर्क तथा सम्बन्ध देखिएको आरोपमा श्रेष्ठ र भट्ट पक्राउ परेका थिए।
उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्।




प्रतिक्रिया