पत्रकार पक्राउ प्रकरणमा अमरेशको आपत्ति, भने– प्रेस स्वतन्त्रताको पक्षमा छु


१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सञ्चारगृहबाटै पत्रकार पक्राउ गर्ने सरकारको कदमप्रति विरोध जनाएका छन्। उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै प्रेस स्वतन्त्रताको पक्षमा आफू दृढ रहेको बताएका छन्।

मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुगेका सांसद सिंहले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारले पत्रकारलाई सञ्चारगृहबाटै पक्राउ गरेको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सरकारको उक्त कदमको विरोध गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्ने बताए।

‘म लोकतन्त्रप्रति प्रतिबद्ध छु। लोकतन्त्रको पिल्लर नै फ्रिडम अफ प्रेस हो। फ्रिडम अफ प्रेसबिना लोकतन्त्र सुदृढ हुन सक्दैन। लोकतन्त्र, मानव अधिकार, कानुनको शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा म छु,’ सिंहले भने।

उनले स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रता, मानव अधिकार र कानुनी शासनको पक्षमा आफू सधैँ उभिने बताए।

यसैबीच, आफ्नो मेची–महाकाली पदयात्रा देशमा कुनै पनि प्रकारको द्वन्द्व हुन नदिन र नागरिकका समस्या उजागर गर्न केन्द्रित रहेको उनले बताए।

‘पदयात्रा हाम्रो देशमा कुनै पनि किसिमको द्वन्द्व हुनुहुँदैन भनेर हो। ६ वटा सको सिद्धान्तअनुसार म अघि बढिरहेको छु,’ उनले भने।