काठमाडौं, १० मंसिर । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको आरोपमा अनुसन्धानमा तानिएका पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा प्रहरीले छापा मारेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार साँझ बूढानीलकण्ठस्थित अर्यालको घरमा खानतलासी गरेको हो। प्रकरणसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा प्रमाण फेला पर्न सक्ने आशंकामा प्रहरीले उनको निवासमा छापा मारेको बताइएको छ।
अर्याललाई प्रहरीले बिहीबार भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। हाल उनी सीआईबीको हिरासतमा छन्। उनलाई शुक्रबार म्याद थपका लागि अदालत उपस्थित गराउने प्रहरीको तयारी छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने नेपाली कामदारबाट गैरकानुनी रूपमा रकम संकलन गर्ने र उक्त रकम विदेश पुर्याउने कार्यमा संलग्न रहेको आरोप अर्यालमाथि छ।
उनले श्रम सचिवका रूपमा रहँदा कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारी श्रममन्त्री रहेका समयमा काम गरेका थिए। अनुसन्धानमा श्रेष्ठको कार्यकालबाहेक अन्य तीन मन्त्रीको कार्यकालमा समेत अवैध रूपमा रकम मलेसिया पुगेको देखिएको बताइएको छ।
अर्यालले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ गतेसम्म श्रम सचिवको जिम्मेवारी सम्हालेका थिए।
मलेसिया जाने कामदारबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी रकम उठाउने र संकलित रकम मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा सीआईबीले यसअघि असोज २९ गते मुख्य योजनाकार भनिएका रामेछापका कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको थियो।
यस प्रकरणमा अर्यालसहित पक्राउ परेका १० जनालाई एकैपटक अदालत उपस्थित गराएर म्याद थप गर्ने तयारी थियो। तर अर्याललाई काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएपछि अन्य १० जनालाई समेत केही ढिलो गरी अदालत लगिएको थियो।
अदालतले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। अर्याललाई भने शुक्रबार मात्रै अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने तयारी सीआईबीले गरेको छ।
प्रहरीले प्रकरणसँग जोडिएका थप प्रमाण तथा कागजात संकलनका लागि अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया