हस्तमाया बस्नेतबाट ठगिएको भन्दै महिलाहरूको आक्रोश,अदालतबाट पनि न्याय नपाएकाे गुनासाे!


काठमाडौं । रामेछापको पुरानो घर प्रीति गाविस भई हाल काठमाडौंको शान्तिनगरमा बसोबास गर्दै आएकी विष्णुमाया भनिने हस्तमाया बस्नेतबाट ठगिएको आरोप लगाउँदै पीडित महिलाहरू एकजुट भएका छन्। विभिन्न समयमा आर्थिक कारोबारका नाममा आफूहरू ठगीमा परेको दाबी गर्दै महिलाहरूले सामूहिक रूपमा आफ्नो पीडा सार्वजनिक गरेका हुन्।

आज रिपोर्टस क्लब ,नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरुले हस्तमाया बस्नेतले सुरुमा कसैलाई छोरी, कसैलाई बहिनी त कसैलाई दिदीको सम्बन्ध बनाएर विश्वासमा लिने र त्यसपछि महिला समूह तथा सहकारी सञ्चालन गरेको भन्दै आर्थिक कारोबारमा जोड्ने गरेको आरोप लगाएको छ  ।

 विशेषगरी आर्थिक क्षमता भएका र पैसा लगानी गर्न सक्ने महिलाहरूलाई आफ्नो सम्पर्कमा ल्याएर कारोबार सुरु गर्ने गरेको उनीहरूको भनाइ छ।

पीडितमध्येकी सुशीला कुमारी अधिकारी, घर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–गोठाटार, ले आफूले समेत ठूलो आर्थिक तथा कानुनी समस्या भोग्नुपरेको बताएकी छन्।

अधिकारीका अनुसार उनले १० लाख रुपैयाँ लगानी गर्दा हस्तमाया बस्नेतले पाँचवटा हस्ताक्षर गरिएका चेक लिने गरेकी थिइन्। त्यतिबेला नगद रकम कारोबार भइरहेको भन्दै चेकलाई सामान्य रूपमा लिएको तर पछि आफूले लगानी गरेको रकमको पाँच गुणासम्म असुल गरिसकेपछि पनि चेक भरेर अदालतमा मुद्दा हाल्न थालेको उनको आरोप छ।

उनका अनुसार आफूहरूलाई पटक–पटक पत्रकार सम्मेलन गर्ने, चेकका आधारमा मुद्दा हाल्ने तथा प्रहरी र प्रशासनमा आफ्नो पहुँच रहेको भन्दै धम्क्याउने गरिएको थियो। “मसँग पैसा छ, कालोकोट लगाएका र बर्दी लगाएका मान्छे मेरो खल्तीमा छन्, तिमीहरूसँग के छ?” भन्दै धम्की दिने गरेको अधिकारीको आरोप छ।

२७ लाखको कारोबारमा ८० लाख तिर्नुपरेको दाबी

अधिकारीले आफू र हस्तमाया बस्नेतबीच २७ लाख रुपैयाँ बराबरको कारोबार रहेको बताउँदै त्यसक्रममा आफूले घर बैंकमा राखेर ४० लाख रुपैयाँसमेत दिएको बताइन्।

कोभिड महामारी सुरु हुनुअघि राति ८ बजे नगद ४० लाख रुपैयाँ पुर्‍याएर आफू तराई गएको र जग्गा बिक्रीको प्रक्रिया अघि बढाएको उनको भनाइ छ। जग्गाको बैना भएपछि आफूले पैसा तिर्न तयार रहेको जानकारी गराउँदा त्यसको केही समयमै आफ्नो जग्गा रोक्का भएको अधिकारीले बताइन्।

उनका अनुसार २७ लाख रुपैयाँको कारोबारमा छोरी कविता बस्नेतको नाममा ३४ लाख, छोरा भुपेन्द्रबहादुर बस्नेतको नाममा ३५ लाख र अन्य चेकसमेत प्रयोग गरी जग्गा रोक्का गरिएको थियो।


हस्तमाया बस्नेत हाजिरी जमानीमा छुटेपछि पीडितको आक्रोश

पीडित महिलाहरूको अनुसार लामो समयको अनुसन्धानपछि हस्तमाया बस्नेतलाई पक्राउ गरिएको भए पनि अदालतले उनलाई हाजिरी जमानीमा छाडेको छ। यसले आफूहरू थप निराशामा परेको अधिकारीको भनाइ छ।

“हामीले महिनौँसम्म संघर्ष गर्‍यौँ। प्रहरीबाट अनुसन्धान भयो, पक्राउ पनि गरियो। तर अनुसन्धान पूरा हुन नपाउँदै हाजिरी जमानीमा छाडियो। अब हामीले न्याय कहाँ खोज्ने?” उनले प्रश्न गरिन्।

उनले भनिन्, “हामी कति समयसम्म लुकेर बस्ने? इज्जत जाने डरले चुप लाग्दा झन् ठगिनुपर्ने अवस्था आयो। अब हाम्रो आवाज सुनिनुपर्छ। अदालतबाट न्याय नपाए हामी आन्दोलनमा उत्रिन्छौँ।”

उनले आक्रोश व्यक्त गर्दै भौतिक कारबाहीसम्म जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिइन्। यद्यपि पीडितहरूले कानुनी प्रक्रियाबाटै न्याय पाउनुपर्ने र आफूहरूका उजुरी तथा प्रमाणमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

यसैबीच,स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले पीडित महिलाहरुलाई सान्त्वना दिँदै गृहमन्त्री सुधन गुरुङलाई भेटेर एक हप्ताभित्र पीडितलाई न्याय दिने र दाषीमाथि कडा कारबाही गर्न समन्वय तथा पहल गर्ने प्रतिवद्धता जनाए ।