हस्तमाया बस्नेतबाट ठगी: ६५ लाखको चेक अनादर मुद्दा परेपछि न्यायको खोजीमा रुँदै लक्ष्मी लम्साल


काठमाडौं। हस्तमाया बस्नेतबाट आर्थिक कारोबारका क्रममा आफू ठगी तथा अन्यायमा परेको आरोप लगाउने महिलाहरूको सूचीमा अर्की पीडित लक्ष्मी लम्साल पनि थपिएकी छन्। उनले आफूले वर्षौँदेखि सापटी तथा ब्याजसहितको रकम तिर्दै आएको र सम्पूर्ण हिसाब चुक्ता गरिसकेपछि पनि आफूविरुद्ध ६५ लाख रुपैयाँको मुद्दा दायर गरिएको दाबी गरेकी छन्।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पीडा सार्वजनिक गर्दै लम्सालले करिब ६–७ वर्षअघि हस्तमाया बस्नेतले आफूलाई पैसा कमाउने बाटो सिकाइदिने भन्दै नजिकिएको बताइन्।

उनका अनुसार बस्नेतले सुरुमा ‘आउनु बहिनी, छोरी के छ’ भन्दै आत्मीय सम्बन्ध बनाएर विश्वासमा लिएकी थिइन्। त्यसपछि उनीहरूबीच आर्थिक कारोबार सुरु भएको र सुरुमा सानो रकमबाट सुरु भएको सापटी कारोबार क्रमशः बढ्दै गएको लम्सालको भनाइ छ।

ठगी गर्ने समुह

लम्सालले आफूले पटक–पटक सापटी तथा ब्याजबापतको रकम बुझाउँदै आएको बताइन्। उनका अनुसार लाख रुपैयाँको १० हजार रुपैयाँसम्म ब्याज तिर्नुपरेको थियो। लामो समयसम्म असुलीका क्रममा रकम बुझाउँदै जाँदा आफूसँग तिर्न बाँकी रकम नरहेको र अब थप रकम तिर्न नसक्ने अवस्था आएपछि बस्नेतले आफूविरुद्ध मुद्दा दायर गरेको उनको आरोप छ।

उनले कारोबारका क्रममा विश्वासका आधारमा हस्ताक्षर गरिएका चेकसमेत दिएको बताइन्। आफूले रकम तिरिसकेपछि चेकको कुनै औचित्य नरहेको र कारोबार समाप्त भएको ठाने पनि अहिले त्यही चेकका आधारमा आफूलाई मुद्दा हालेकाे भनाइ छ।

६५ लाखको मुद्दा, घरजग्गा पनि रोक्का

लम्सालका अनुसार आफूविरुद्ध ६५ लाख रुपैयाँ बराबरको मुद्दा दायर गरिएको छ। मुद्दाका कारण आफ्नो घरसमेत रोक्का भएको र हस्तमाया बस्नेतका ज्वाइँ, छोरी तथा भाइलगायत अन्य व्यक्तिका नाममा समेत आफ्नो चेक प्रयोग गरी घरजग्गा रोक्का गरिएको उनको आरोप छ।

आफूसँग सम्बन्धित नभएका व्यक्तिहरूको नाममा समेत मुद्दा तथा घरजग्गा रोक्काको अवस्था सिर्जना भएको भन्दै उनले गम्भीर अन्यायमा परेको बताइन्।

लम्सालले आफूहरूले वास्तवमा कति रकम लिनुपर्ने वा तिर्नुपर्ने हो भन्ने विषयमा निष्पक्ष हिसाब जाँच हुनुपर्ने माग गरेकी छन्। आफूले रकम बुझाएको प्रमाणका रूपमा रहेका भौचर तथा कारोबारका विवरण अध्ययन गरेर वास्तविक हिसाब सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

‘हामीले तिर्न बाँकी के हो, हाम्रो भाेउचर हेरेर हिसाब निकालियोस्। हाम्रो कारोबारको हिसाब पढियोस्, हेरियोस्,’ उनले भनिन्।

अदालतबाट समेत न्याय नपाएकाे भन्दै लम्सालले आफूहरू न्याय खोज्न कहाँ जाने भन्ने प्रश्नुमेत उठाइन्। ‘न्याय पाउनुपर्याे हामीले, अदालतबाट त पाउने रहेनछाैँ,’उनले भनिन् ।

पीडित लम्सालले आफूले बुझाएको रकम, ब्याज तथा चेकको विवरणसमेत निष्पक्ष रूपमा परीक्षण गरी न्यायिक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।