१३ मंसिर, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्नुपर्ने मागसहित स्वतन्त्र नागरिक अभियानले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित हिमालयन दरबारमा दिउँसो १ बजे कार्यक्रम हुन लागेको अभियानका संयोजक ऋषि धमलाले जानकारी दिएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, बुद्धिजीवी, प्राध्यापक, राजनीतिक विश्लेषक, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । स्थानीय तहको निर्वाचनलाई दलीय प्रभावबाट मुक्त बनाउने सम्भावना, त्यसका अवसर र चुनौती तथा कानुनी व्यवस्थाबारे कार्यक्रममा छलफल हुने जनाइएको छ ।
पछिल्लो समय स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको चुनाव चिह्न र दलीय आबद्धता हटाउनुपर्ने माग विभिन्न अभियन्ता तथा नागरिकस्तरबाट उठ्दै आएको छ । स्थानीय सरकार जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले दलभन्दा स्थानीय आवश्यकता, विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने मागकर्ताहरूको तर्क छ ।
स्वतन्त्र नागरिक अभियानले पनि स्थानीय तहमा दलीय प्रतिस्पर्धाका कारण उत्पन्न हुने राजनीतिक ध्रुवीकरण, भागबन्डा र हस्तक्षेप अन्त्य गर्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको धारणा राख्दै आएको छ ।
यसअघि अभियानले गैरदलीय निर्वाचन प्रणाली लागू गर्न माग गर्दै निर्वाचन आयोगसमक्ष ज्ञापनपत्रसमेत बुझाएको थियो । ज्ञापनपत्रमा दलका चुनाव चिह्न हटाएर उम्मेदवारलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको थियो ।
बालेनको स्वतन्त्र उम्मेदवारीदेखि रविको गैरदलीय स्थानीय सरकारको बहससम्म
नेपालमा गैरदलीय स्थानीय निर्वाचनको बहस नयाँ भने होइन । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । उनले ६१ हजार ७६७ मत प्राप्त गर्दै प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि पारेका थिए ।
बालेनको स्वतन्त्र उम्मेदवारी र विजयलाई नेपालमा दलीय आबद्धताबाहिर रहेर पनि स्थानीय नेतृत्वमा पुग्न सकिने उदाहरणका रूपमा चर्चा गरिँदै आएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि स्थानीय सरकारलाई दलीय राजनीतिबाट अलग राख्ने अवधारणाको पक्षमा धारणा राख्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफ्नो राजनीतिक दस्तावेज र चुनावी प्रतिबद्धतामा गैरदलीय स्थानीय सरकारको अवधारणालाई समेटेको छ ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन हुने मुलुक तथा क्षेत्रहरू पनि छन् । अमेरिका, क्यानडा र अस्ट्रेलियाका अधिकांश स्थानीय सरकारमा गैरदलीय निर्वाचनको अभ्यास छ । त्यस्तै, न्युजिल्यान्ड र क्यानडाका केही क्षेत्रमा पनि स्थानीय उम्मेदवारहरू दलीय चुनाव चिह्नबिना प्रतिस्पर्धा गर्छन् ।




प्रतिक्रिया