म्यानमारमा सेनाको हवाई आक्रमण : विवाह समारोह र विद्यालयमा बमबारी, दर्जनौंको मृत्यु


१३ मंसिर, काठमाडौं । म्यानमारमा सैन्य शासनको नेतृत्वमा रहेको सेनाले विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा दर्जनौं सर्वसाधारणको ज्यान गएको छ । आक्रमणका क्रममा विवाह समारोह भइरहेको स्थल, विद्यालय तथा आवासीय क्षेत्रसमेत निशानामा परेका छन् ।

बीबीसीका अनुसार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा शनिबार दिउँसो विवाह समारोह चलिरहेका बेला सेनाले हवाई आक्रमण गरेको थियो । उद्धारकर्ताहरूले उक्त घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जानकारी दिएका छन् ।

यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा पनि ठूलो मानवीय क्षति भएको थियो । म्यानमारको निर्वासित सरकार नेसनल युनिटी गभर्मेन्ट (एनयूजी)का अनुसार उक्त घटनामा कम्तीमा २० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसमेत रहेका छन् ।

मग्वे क्षेत्रमा सैन्य शासनको विरोधमा विभिन्न प्रतिरोधी समूहहरू सक्रिय रहँदै आएका छन् ।

त्यस्तै, शनिबार साँझ पश्चिम म्यानमारको राखाइन राज्यस्थित म्राउक–यू सहरमा पनि सेनाले बमबारी गरेको बताइएको छ । स्थानीय समयअनुसार राति ८ बजे सहरको आवासीय क्षेत्रमा गरिएको आक्रमणमा १० जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने करिब २० जना घाइते भएका छन् ।

म्राउक–यू क्षेत्र हाल अराकान आर्मी (एए)को नियन्त्रणमा छ । उक्त समूह म्यानमारको सैन्य शासनविरुद्ध सशस्त्र संघर्ष गरिरहेका प्रमुख जातीय विद्रोही शक्तिमध्ये एक हो ।

विवाह समारोह, विद्यालय र आवासीय क्षेत्रलाई लक्षित गरी भएका यी आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया गदिएको बीबीसीले उल्लेख गरेको छ ।