काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ अभियान’ अन्तर्गत स्थानीय तहका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति विवरण जाँचबुझ गर्न कांग्रेस तयार रहेको बताएका हुन्।
उनले अहिलेसम्म अनुसन्धानका क्रममा रहेका र विभिन्न कारणले थन्किएका सबै फाइल पुनः अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखे। सम्पत्ति छानबिनको विषयमा कांग्रेस खुला रहेको उल्लेख गर्दै उनले सरकारले निष्पक्ष रूपमा प्रक्रिया अघि बढाउनुपर्ने बताए।
‘२०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ गरियोस्। अहिलेसम्म अनुसन्धान भएर थन्किएका सबै फाइलको अनुसन्धान होस्। प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ,’ थापाले भने।
सभापति थापाले सम्पत्ति छानबिनको विषय जनतामाझ स्पष्ट रूपमा राख्न स्थानीय तहका प्रतिनिधिहरूलाई पनि आग्रह गरे।
उनले अनुसन्धान प्रक्रिया कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै सरकारी निकायहरू विधि र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताए।
कांग्रेसमा आबद्ध कुनै व्यक्ति गलत कार्यमा संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही हुनुपर्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको उनले बताए। तर, कांग्रेसमा आबद्ध भएकै कारण कसैलाई गलत नियतले दुःख दिने वा राजनीतिक प्रतिशोध साँध्ने काम भने स्वीकार्य नहुने उनको भनाइ थियो।




प्रतिक्रिया