काठमाडौं, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रवि लामिछाने सहकारी ठगी प्रकरणमा निर्दोष नरहेपनि उनलाई पक्राउ गर्नुमा प्रतिशोधको अंश भने रहेको बताएका हुन् ।
लामिछानेको जस्तै प्रकृतिका मुद्दामा कांग्रेस–एमालेका नेताहरुलाई अनुसन्धानको दायरामा नल्याइएको बताउँदै उनले भने, ‘उहाँको निर्दोषितामा मलाई विश्वास नभएपनि उहाँमाथि जुन कारबाही भइरहेको छ, त्यसमा प्रतिशोधको अंश पनि छ । म सन्तुलनमा बोल्छु । कांग्रेस एमालेका त्यही प्रकृतिका घटनाहरुमा केश अगाडि नबढ्ने, उहाँकै मात्र बढ्ने भनेको त्यसमा प्रतिशोधको अंश पनि छ । तर, प्रतिशोधको अंश छ भनेको अर्थ उहाँ निर्दोष हुनुहुन्छ भनेको चाहीँ होईन ।’
रास्वपा सभापति लामिछानेले ‘रविन्द्र मिश्रले मलाई इमान सिकाउन पर्दैन’ भनी दिएको अभिव्यक्तिको खण्डण गर्दै उनले आफूसँग इमान सिक्न चाहनेसँग न्यूनतम इमान हुनुपर्ने बताए । उनले रास्वपा सभापति लामिछानेसँग न्यूनतम इमान पनि रहेको टिप्पणी गरे ।
‘रविन्द्र मिश्रसँग इमान सिक्न जो चाहन्छ, उसको न्यूनतम् इमान चाहीँ हुनुपर्छ । जसको न्यूनतम् इमान पनि छैन, त्यसले रविन्द्र मिश्रसँग इमान सिक्न सक्दैन,’– उनले भने ।




प्रतिक्रिया