लेखा समितिमा नैतिकताको बहस, अर्जुननरसिंहलाई आफ्नै सांसदबाट काउन्टर, जनार्दनलाई योगेशले सम्झाए विगत


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा नैतिकताको बहस चलेको छ । मंगलबार बसेको लेखा समितिको बैठकमा सभापति पदलाई लिएर सांसदहरुबीच नैतिकताको बहस चलेको हो ।

सामान्यतया लोकतान्त्रिक मूल्य मान्यतालाई अंगिकार गर्ने देशमा लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले लिने व्यवस्था रहेको छ । तर, हाल नेपालमा भने प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल समितिको सभापति छन् ।

माओवादी र कांग्रेसको सरकार हुँदा तत्कालीन समयमा लेखा समितिको नेतृत्व एमालेले पाएको थियो । हाल एमाले सत्तारुढ हुँदा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल रहेको छ । प्रतिपक्षमा पुगेको दिनदेखि माओवादीले लेखा समितिको नेतृत्व मागिरहेको छ । तर,सरकारले समितिको नेतृत्व छाड्ने छाँट देखाएको छैन् ।

मंगलबार बसेको बैठकमा माओवादीका सांसद जनार्दन शर्मा र लेखनाथ दाहालले लेखा समिति सभापतिको राजीनामा मागेपछि सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको नैतिकता पढाउँदै माओवादी केन्द्र र आफ्नै पार्टीका सभापति भएका बखत पनि त्यो नैतिकता कायम नराखिएको बताए ।

संसदीय व्यवस्थामा लेखा समितिको नेतृत्व विपक्षीको हुने सिद्धान्त स्थापित भएको हो । तर, त्यो व्यवस्थालाई हामीले तोड्दै आयौँ,” केसीले भने, “भर्खरै बोल्नुभएको जनार्दनजी यहीँ हुनुहुन्छ, उहाँले पनि तोडेकै हो ।”

केसीले सो कुरा बोलेलगत्तै बोलेका जनार्दन शर्माले स्पष्टीकरण दिँदै आफूले सत्तापक्ष भएपछि राजीनामा दिएको जिकिर गरे । “मैले परम्परा तोडेको होइन, सरकार परिवर्तन भएपछि छोडेको हो,” शर्माले भने, ।

जनार्दनपछि बोलेका नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पनि सत्तापक्ष भएपछि सभापति पद नछोडेको विषय उल्लेख गरे । केसीले त्यस्तो विषय राख्नासाथ यादवले स्पष्टीकरण दिए । “मैले नछोडेको होइन माननीय, मलाई राख्न लगाइएको हो,” यादवले भने । त्यसपछि बैठक हल हाँसोले गुन्जियो ।

जनार्दन, अर्जुननरसिंह र रामकृषबीच सवाल जवाफ चलिरहँदा एमाले सांसद योगेश भट्टराईले बोले । उनले जनार्दन शर्माले मन्त्री पाउने निश्चित भएपछि समितिको सभापतिबाट राजीनामा दिएको स्मरण गराए । यहाँ कुरा उठ्यो, एक जना माननीयले छोडे पनि भन्नुभयो । तर, इतिहास कस्तो रहेछ भने मन्त्री भएपछि समिति सभापति छोडेको रहेछ २०७३ मा ’ योगेशले भने ।

०७३ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको प्रचण्ड सरकारको पालामा जनार्दन लेखा समितिको सभापछि थिए । पछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जामन्त्री बन्ने भएपछि उनले सभापति पद छाडेका थिए । जनार्दनले छाडेको सभापति पद पछि माओवादी स्वयंले लिएको थियो । प्रमुख प्रतिपषी दल नेकपा एमालेका पशुपति चौलागाईंलाई हराउँदै माओवादीका डोरदेव उपाध्याय लेखा समितिको नेतृत्वमा पुगेका थिए ।