ठूला प्रकृतिका सार्वजनिक खरिदमा राज्य र अख्तियार गम्भीर बनोस्ः राष्ट्रपति पौडेल


काठमाडौं, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले ठूला प्रकृतिको सार्वजनिक खरिदमा गम्भीर बन्न राज्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । आज (सोमबार) अख्तियारको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको बताउँदै त्यसतर्फ गम्भीर बन्न आग्रह गरेका हुन् । साथै, भ्रष्टाचारसँग सम्बन्धित विधेयकहरु लामो समयसम्म किनारा नलाग्दा समस्या आइरहेको तर्फपनि उनले ध्यानाकार्षण गराए ।

‘ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर जुन चिन्ता व्यक्त भइरहेको छ, यसमा राज्य पक्ष र अख्तियार गम्भीर बनोस् भन्ने मेरो चाहना छ । भ्रष्टाचारसँग सम्बन्धित विधेयकहरु लामो समयसम्म किनारा नलाग्दा केही समस्या आएको गुनासो आइरहेको हुनाले यसमा सम्बद्ध पक्षको म ध्यान आकर्षण गराउन चाहन्छु,’– राष्ट्रपति पौडेलले भने ।

प्रदेश तथा स्थानीय तहलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएर जिम्मेवार बनाइनुपर्नेमा जोड दिनपनि उनको आग्रह छ । राष्ट्रपति पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए । अख्तियारले शक्ति र पद हुँदैमा कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिनँ र हुनपनि दिन्न भन्ने प्रण गर्न आवश्यक रहेको बताए । उनले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि राष्ट्रको चाहना रहेको पनि बताए । सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घर दैलोमा पुर्याउन नसकिने राष्ट्रपति पौडेलको भनाइ छ ।