काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका नेता गुरू घिमिरेले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएकोप्रति आपत्ति जनाएका छन् । गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संसद्का पहिलो र दोस्रो दलको सरकार विश्वमा आफूले कतै नदेखेको, नसुनेको र नपढेको बताए । उनले संसारमा कहीँ कतै नभएको प्रयोग नेपाली राजनीतिमा भएको टिप्पणी गरे ।
‘हामी नेपालमा संयुक्त सरकारको अभ्यास गदैछौं । संसद्को सबैभन्दा ठूलो दल, दोस्रो ठूलो कम्युनिष्ट पार्टीको नेतृत्वमा, यस्तो उदाहरण त मैले संसारमा कहीँ पढेको पनि छैन, देखेको पनि छैन । यो भन्न हुने हो कि होईन, मलाई थाहा छैन । यो भन्न नमिल्ने नै होला, किनभने साह्रै राम्रो सम्बन्ध छ हाम्रो पार्टी र अहिले नेकपा (एमाले) सँग । यस्तो उदाहरण मैले कहीपनि दुनियाँमा, संसारमा देखेकै छैन । यो कस्तो प्रयोग हो ?’ प्रश्न गर्दै उनले भने ।
उनले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार सफल हुनेमा पनि आशंका व्यक्त गरे । नेता घिमिरेले ‘यो प्रयोग सफल भयो भने त एउटा दृष्टान्त बन्ला । यो असफल भयो भने आउने पुस्ताले कसरी मूल्याङ्कन गर्छ ?’ भन्दै प्रश्न गरे ।
साथै, नेता घिमिरेले ओली नेतृत्वको सरकार गठन भएको ७ महिना वितिसक्दा पनि छिमेकी देशहरुसँगको सम्बन्धमा सुधार आउन नसकेको बताए । भूराजनीतिक परिस्थितिबारे विज्ञहरूको समूह बनाएर देशको परराष्ट्र नीतिबारे स्पष्ट नीति बनाउनुपर्ने उनले आवश्यकता औंल्याए । File Photo/RN




प्रतिक्रिया